सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ। कलाकार तथा प्राविधिकहरूको कडा मिहिनेतका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार नै ३७ दिनमा चलचित्रको सम्पूर्ण छायांकन पूरा भएको हो।

चलचित्रका निर्देशक पौडेलले सबैको बलियो सहकार्य र अथाह मिहिनेतले गर्दा सहज रूपमा तोकिएकै समयभित्र सुटिङ सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।

चलचित्रको सुटिङ समापन गर्नुअघि गत सोमबार मात्रै निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको “नाँचौं न बरि लै’ बोलको गीतको छायांकन गरेको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहनेछ। यसैगरी चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि देख्न सकिनेछ।

चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ।

दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ। यस्तै, मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहोरा र सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्।

यसअघि दर्जनौँ नेपाली चलचित्रहरूमा सहायक निर्देशकका रूपमा लामो अनुभव बटुलिसकेका विनयराज पौडेलले यसै चलचित्रमार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्। राकेश दाहालले पोस्टर डिजाइन गरेको यो चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने जिम्मा लिएका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com