सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।

चलचित्रका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले चलचित्रले पाएको सफलतालाई दर्शकसँग साट्न दिनभर विभिन्न हलमा पुगेर दर्शक भेटघाट गर्ने बताए । उनले भने, ‘षट्कोण आट्र्सले निर्माण गरेको अघिल्ला चलचित्र झैँ यसपटक पनि माया पाएका छौँ, यसलाई धन्यवादमा व्यक्त गर्ने शब्द हामीसँग छैन । आज शनिवार दिनभर नै हामी विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छौँ ।’

उनले नेपालमा ५१ औँ दिन पुरा गरेको ‘लालीबजार’ ले डायस्पोरा प्रदर्शनको सुरुआत गरेको जानकारी दिए । ‘अब चलचित्र नेपालसँगै विदेशी बजारमा समेत प्रदर्शन हुँदैछ, हामी विभिन्न देशको जानकारी छिटै दिनेछौं । अहिले युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको चलचित्र क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुँदैछ’, कार्यकारी निर्माता भट्टराईले भने ।

यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल चलचित्रमध्ये एक बनेको छ । घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको चलचित्रको यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख छ । फिल्मको निर्देशन यम थापाले गरेका हुन् । यसअघि षट्कोण आट्र्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन् । विशाल रङ्गमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन् । चलचित्रको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com