सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘PWXM: Wrestle Castle’ आयोजना हुने भएको छ। कार्यक्रमको सबैभन्दा ठुलो आकर्षणको रूपमा विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा WWE Hall of Famer तात्सुमी फुजिनामी रहेका छन् । विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्व मध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली रेस्लिङ क्षेत्रका लागि ऐतिहासिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
खेलकुद, मनोरञ्जन र सङ्गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिने यस भव्य कार्यक्रम २०८३ साल असार २० गते (शनिवार), दिउँसो २ बजेदेखि ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ। कार्यक्रममा चर्चित र्याप कलाकार डिबी यो म्याजेस्टी ,भी – लेन ३९, साथै लोकप्रिय गायक कुहाङको साङ्गीतिक प्रस्तुति रहनेछ।

फुजिनामीसँगै जापानबाट उत्कृष्ट खेलाडीहरू लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो तथा ह्योउ ओगवा सहभागी हुनेछन्। कार्यक्रममा नेपालका व्यावसायिक रेस्लरहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। नेपालको व्यावसायिक रेस्लिङका अग्रणी तथा प्रशिक्षक हिमालयन टाईगरको मार्गदर्शनमा तयार भएको नेपाली टोलीको नेतृत्व चर्चित र्यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो (थापाकाजी) ले गर्नेछन्। यसका साथै अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ्ग समेत नेपाली टोलीबाट प्रतिस्पर्धामा उत्रिनेछन्।

पिग ई प्रोडक्सनको प्रस्तुति रहेको यस कार्यक्रम ‘PWXM: Wrestle Castle’ को सह–आयोजक भने नखिपोट युथ क्लब रहेको छ ।
कार्यक्रमको निर्देशन तकाशी ताकेइ (टक बिष्ट) ले गरिरहेका छन्। आयोजकका अनुसार ‘PWXM: Wrestle Castle’ केवल एउटा मनोरञ्जनात्मक कार्यक्रम नभई नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान हो।
यस कार्यक्रममार्फत नेपाल र जापानबिच सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्नुका साथै नेपाली रेस्लरलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर सिर्जना गर्ने, नयाँ प्रतिभा उत्पादन गर्ने तथा नेपाली दर्शकलाई विश्व स्तरीय मनोरञ्जन उपलब्ध गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ।



प्रतिक्रिया