सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लज्जावती’को गीत ‘दिलको मोटर’ले दर्शकको ध्यान तानिरहेको छ। प्रेम, उत्साह र खुसीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस गीतले चलचित्रको प्रचारमा थप ऊर्जा दिएको छ।

गीतको शीर्षक ‘दिलको मोटर’ले नै प्रेमको भावलाई झल्काउँछ। प्रेमले मानिसको मनमा ल्याउने उत्साह, बढ्दो आकर्षण र भावनात्मक हलचललाई गीतले सरलसँगै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। ‘दिलको मोटर दिलमा कुद्यो, हल्का लजार…’ भन्ने टुक्काले प्रेममा परेको व्यक्तिको मुटुको गति र मनको चञ्चलतालाई रोचक ढंगले अभिव्यक्त गर्छ।

‘माया पिरिम घोलेर दिलको ढोका खोलेर…’ जस्ता शब्दले प्रेममा हुने प्रतीक्षा, चाहना र गुनासोलाई देखाउँछन् भने ‘स्यालको छाँट, बाघको आँट…’ जस्ता हरफले आत्मविश्वास र साहसको भाव प्रस्तुत गरेको छ। लोक स्वाद र आधुनिक संगीतको संयोजन रहेको गीतमा प्रेमलाई गम्भीर भावभन्दा उत्सव र रमाइलोपनका रूपमा प्रस्तुत गरिएको छ।

गीतको संगीत संयोजन, आकर्षक शब्द चयन, कलाकारहरूको रोमान्टिक नृत्य र प्रस्तुतीकरणले भिडियोलाई थप प्रभावशाली बनाएको छ। कलाकारहरूबीचको केमेस्ट्री, कोरियोग्राफी र भिडियोको मेकिङ पक्षले गीतलाई मनोरञ्जनात्मक बनाएको देखिन्छ ।

गीत बाबुल गिरीको शब्द तथा संगीतमा बनेको गीत सहिमा श्रेष्ठ र रवि ओडले गाएका छन्। नृत्यशैलीमा तयार पारिएको गीतको भिडियोमा सिनेमाका कलाकार मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालले अभिनय गरेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो निकै आकर्षण बनेको छ।

यसैबीच, गीतले युट्युबमा साढे ७ लाख भ्युज प्राप्त गरिसकेको छ। भ्युजसँगै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छ। कमेन्टमा दर्शकहरूले गीतको संगीत, भिडियो निर्माण, कलाकारहरूको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका छन्। जसले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाएको छ ।

एक दर्शकले कडा डान्सिङ नम्बर, गीतको संगीत, थेगो र कलाकारको अभिनय गजब छ’ भन्दै प्रतिक्रिया दिएका छन्। अर्का दर्शकले ‘म्युजिकको एरेन्जमेन्ट र कलाकारहरूको एक्सप्रेसनले भिडियोलाई निकै स्तरीय बनाएको छ’ उल्लेख गरेका छन्।

त्यस्तै, अर्को प्रतिक्रियामा गीतको हरेक लाइनले सिधै मुटुमा स्पर्श गर्ने, भिडियोको मेकिङ र कलाकारहरूको अभिनय निकै उत्कृष्ट तथा आकर्षक रहेको भन्दै ‘लज्जावती’ टिमलाई बधाई दिएका छन्।

यही साउन २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लज्जावती’ को गीतले रिलिजअघि नै दर्शकमाझ सकारात्मक माहोल सिर्जना गरेको देखिन्छ। सौरभ ओली प्रस्तुतकर्ता रहेको सिनेमा राजबहादुर सानेले निर्देशन गरेका हुन्।

आहा फिल्म्सको ब्यानरमा निर्मित चलचित्र मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको हो। कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता रहेको चलचित्रमा दिनेशराज बुढाथोकी कार्यकारी निर्माता छन्।

दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन्।

तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन छ। सिनेमालाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

https://youtu.be/ELdMGFBZ6-o?list=RDELdMGFBZ6-o

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com