सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक भएको छ । गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो। आइतबार काठमाडौंको न्यूरोडस्थित रन्जना सिनेप्लेक्स मा आयोजित विशेष समारोहमा अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

फिल्मी गीतको शैलीमा तयार गरिएको गीत तथा भिडियोमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। ‘न गाँस्थे म प्रित’ डा. झाको ‘जीवन पथ-२’ एल्बममा समावेश गीत हो। गीतमा उनकै शब्द, संगीत र स्वर रहेको छ। पबिधान खालिङले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।

म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा दुवैलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन, कथा तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर तथा जीएफएक्स छ। सरोज पाण्डेले मेकअप र सूर्य ओलीले प्रोडक्सन सम्हालेका छन्।

गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा डा. झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। ‘जीवन पथ–२’ एल्बमअन्तर्गत सार्वजनिक गरिएको गीतले अव्यक्त प्रेमिल भावनालाई संगीतमार्फत प्रस्तुत गरेको उनको भनाइ छ।

निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले गीत सुन्नासाथ आफू कल्पनामा डुबेको र त्यही भावनालाई आधार बनाएर रोमाञ्चक भिडियो तयार गरेको बताए। अध्ययनका क्रममा भारतमा रहेकी सोहल्या झाले भिडियो सन्देशमार्फत आफूले ६ वर्षसम्म सिकेको भरतनाट्यमको सीप भिडियो निर्माणका क्रममा प्रयोग गर्न पाएको बताइन्। उनले बुवाको गीतको भिडियोमा काम गर्न पाउँदा खुसी लागेको पनि बताएकी छन्।

अभिनेता सुरेश कोहलीले ‘न गाँस्थे म प्रित’को भिडियोमा काम गर्दा फिल्मी गीत र त्यसको भिडियोमा अभिनय गरेको अनुभूति भएको बताए। कार्यक्रममा गायक राजेशपायल राईले डा. झाको प्रतिभा आफूले सामान्य ठाने पनि संगत गर्दै उनको स्वर सुनेपछि अद्भुत प्रतिभा रहेको महसुस गरेको बताए। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. झाको नसानसामा संगीत रहेको टिप्पणी गरे।

गीत तथा भिडियो सार्वजनिक भएसँगै ‘न गाँस्थे म प्रित’ डा. रणजित कुमार झाको युट्युब च्यानलसँगै विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध भएको छ। कार्यक्रममा डा. झाको परिचयात्मक भिडियोसँगै उनका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’को भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।

चिकित्सा र संगीत दुवै क्षेत्रमा सक्रिय डा. झाले बंगलादेशबाट एमबीबीएस तथा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडी गरेका छन्। उनले भारतको अपोलो अस्पतालबाट मधुमेह र मुटुसम्बन्धी विषयमा फेलोसिपसमेत गरेका छन्।

सप्तरीको कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सकीय सेवा सुरु गरेका डा. झाले जिरी अस्पताल दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज हुँदै हाल वीर अस्पतालमा सेवा दिइरहेका छन्। २१ वर्षको सेवा अवधिमा उनले करिब नौ वर्ष विभिन्न अस्पतालमा प्रमुखको जिम्मेवारीसमेत सम्हालेका छन्।

तीन दशक लामो सांगीतिक यात्रामा डा. झाले गीत लेखन, संगीत सिर्जना तथा गायन गर्दै आएका छन्। स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवाश्री’ २०७७ बाट विभूषित भएका उनी २०७२ सालको भूकम्पका बेला गरेको सेवाका लागि हङ्वान्जी बुद्धिस्ट सोसाइटी अफ नेपाललगायत विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन्।

संगीत क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत ‘म्युजिक खबर संगीतकर्मी सम्मान’, निम अवार्ड संगीतकर्मी सम्मान २०२५ लगायत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com