सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार घोषणासँगै चर्चामा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्ममा विजय अनुबन्ध भएका हुन् । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय पनि फिल्मको स्टारकास्टमा जोडिएका छन् ।

विजयको प्रवेशसँगै फिल्मको लाइनअप थप बलियो बनेको निर्देशक चौधरीले बताए। ‘फिल्मको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ । हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ’, उनले भने ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कलाकारको लाइनअपले यसलाई मल्टिस्टार फिल्मका रूपमा अघि बढाइरहेको छ ।फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन् । निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’मा आधारित हुनेछ ।

सौरभ चौधरी यसपटक यसअघिका फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने तयारीमा छन् । निर्माण पक्षले यो फिल्म नेपाली फिल्म क्षेत्रकै ठूलो स्केलको एक्सन फिल्म हुने दाबी गरेको छ ।

फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ । फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् । को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

मानकृष्ण महर्जन डीओपी रहेको फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन् । डिजिटल पार्टनरमा ओएसआर डिजिटल, पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो र वितरकमा डीसीएन रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com