सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले पहिलो फिल्मका रूपमा ‘मास्टर्नी’लाई क्राइम थ्रिलर जनरामा निर्माण गरेकी छन् । अभिनयमा आफूलाई अब्बल साबित गरेकी उनी अहिले निर्माताका रूपमा पनि अगाडि बढेकी छन् । उनको निर्माणमा बनेको पहिलो फिल्म ‘मास्टर्नी’ यही शुक्रबार प्रदर्शन हुँदैछ ।
आखिर प्रियंकाले पहिलो फिल्ममै क्राइम थ्रिलर जनरा किन रोजिन् त ? यसबारे उनी भन्छिन्, ‘क्राइम थ्रिलर मेरो एकदमै मनपर्ने जनरा हो । र, मलाई के लाग्छ भने नेपालमा सबै किसिमका जनरामा फिल्म बन्नुपर्छ ।’
पछिल्लो समय पारिवारिक कथामा बनेका फिल्म बढी सफल भइरहेको अवस्थामा आफूले फरक जनरामा फिल्म बनाउने जोखिम मोलेको प्रियंकाको भनाइ छ । उनका अनुसार यसले अन्य निर्मातालाई पनि फरक जनरामा फिल्म बनाउन प्रेरित गर्न सक्छ । ‘मास्टर्नी’ बन्नुको पछाडि भने निर्देशक शुभेन्दु घोषलाई प्रियंका मुख्य कारण मान्छिन् । उनका अनुसार शुभेन्दुसँग भेट नभएको भए फिल्म तत्काल निर्माण हुने थिएन ।
‘मास्टर्नी’को व्यावसायिक प्रदर्शनमा भने सेन्सर बोर्डबाट प्राप्त ‘एडल्ट’ सर्टिफिकेट चुनौती बन्न सक्ने देखिएको छ । उक्त सर्टिफिकेटका कारण १६ वर्षभन्दा कम उमेरका दर्शकलाई फिल्म हेर्न प्रतिबन्ध हुनेछ । यद्यपि, फिल्मले पाएको सर्टिफिकेटबाट प्रियंका भने खुसी छिन् । आफूले फिल्मका लागि चाहेको सर्टिफिकेट नै यही रहेको उनको भनाइ छ ।
फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला र अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय छ। आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ। फिल्मको कथा अभिनेत्री प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार गरेका छन्। संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।










प्रतिक्रिया