सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले आकृतिलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन् । पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ ।

फिल्मको घोषणा गर्दा यसको नाम ‘मेरो अधुरो प्रेम’ राखिएको थियो । हाल उक्त नाम होल्ड गर्दै ‘मायालु’ नामबाट निर्माणको काम अघि बढाइएको हो । निर्देशक पौडेलका अनुसार ‘मायालु’ प्रदर्शनपछि ‘मेरो अधुरो प्रेम’ नाममै अर्को फिल्म निर्माण गरिनेछ ।

आकृतिका लागि ‘मायालु’ दोस्रो फिल्म हो । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छन् । ‘मुक्तिपुर’ प्रदर्शनमा आउनुअघि नै उनी नयाँ फिल्ममा आबद्ध भएकी हुन् । नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी आकृति मोडलसमेत हुन् ।

मुख्य अभिनेत्रीका रूपमा आकृति फाइनल भएसँगै फिल्मका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए । ‘हामीले मुख्य अभिनेत्रीमा आकृति बुढाथोकीलाई टिममा जोडेका छौं । अब सहायक अभिनेत्रीको खोजीमा छौं,’ उनले भने ।

यसअघि नै फिल्मको मुख्य अभिनेताका रूपमा कबीर खड्का अनुबन्धित भइसकेका छन् । निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ । निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा अनिल कुर्मीले लेख्नेछन् ।

मुख्य कलाकारबाहेक अन्य पात्रहरू अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशक पौडेलले बताए । फिल्मको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ । अस्ट्रेलियाबाटै छायांकन सुरु गर्ने तयारी छ ।

साउनबाट छायांकन सुरु गर्ने तयारी भए पनि कलाकारको भिसा प्रक्रियाका कारण निर्धारित समयमा काम सुरु हुन सकेन । अब भने दसैंपछि छायांकन सुरु गर्ने तयारी भइरहेको निर्देशक पौडेलले जानकारी दिए । फिल्मको छायांकन शरद महतोले गर्नेछन् ।

सितारा र कबीर खड्का फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावलको लगानी रहनेछ । उनले दर्शकलाई सुन्दर प्रेमकथा प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माणमा अघि बढेको बताए । फिल्मका सहनिर्माता विवेक पौडेल हुन् ।

शिवाकर प्रसाईं कार्यकारी निर्देशक रहेको फिल्ममा सुनिल निउरे मुख्य सहायक निर्देशक र बमबहादुर थापा एसोसिएट निर्देशकका रूपमा जोडिएका छन् । फिल्ममा अनमोल थापाको संगीत रहनेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com