सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्माणाधीन फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन् । फिल्मका निर्देशक बलिराम चौहानले प्रजललाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन् । प्रजलको अनुबन्धसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए ।
प्रजलले यसअघि ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’मा अभिनय गरिसकेका छन् । उनी हाल ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन् । इटहरीमा जन्मिएका प्रजलले सानैदेखि रेडियोमा काम गरेका थिए । रेडियोमा काम गर्ने क्रममा उनले रंगमञ्चको यात्रा सुरु गरेका हुन् । कलालय इटहरीको स्कुल थिएटरमा गुरु सोनु जयन्ती र प्रज्वल पराजुलीसँग उनले अभिनय सिकेका हुन् ।
प्रजलले कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाल, भारत तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा दुई दर्जनभन्दा बढी नाटकमा अभिनय, लेखन तथा निर्देशन गरिसकेका छन् । उनले दर्जनौं सर्ट फिल्म, म्युजिक भिडियो, सिरिज तथा टिभीसी विज्ञापनमा समेत अभिनय गरेका छन् ।
त्यस्तै, नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को पटकथा तथा संवाद लेखनमा उनले नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका थिए । यसअघि नै फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन् । मुख्य अभिनेत्रीका रूपमा गुराँस ढकाल आबद्ध भएकी छन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्ने निर्देशक चौहानले बताए । विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक विषयलाई पर्दामा उतार्ने तयारी निर्माण पक्षको छ ।
फिल्म असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ । हाल फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ । कथावस्तुलाई ध्यानमा राख्दै फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ ।
नेपाली युवापुस्ताले साथीभाइको सर्कलमा एउटै विषयलाई लिएर हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने निर्देशकको भनाइ छ । यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई फिल्ममा समेटिने निर्माण पक्षले जनाएको छ । फिल्मको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले लेखेका हुन् । फिल्म भोलानाथ कटुवालको लगानीमा निर्माण हुनेछ ।










प्रतिक्रिया