सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मिसेस भोग नेपाल सिजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्। हाउस अफ फेसन नेपालका अनुसार ३२ वर्षीया प्रतिक्षाले म्यानमारमा हालै सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। ग्रान्ड फिनालेमा मुख्य उपाधिसँगै उनले ‘मिसेस ग्ल्यामर’को सब–टाइटलसमेत जितेकी छन्।
प्रतियोगितामा नेपालबाट राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले ‘बेस्ट नेसनल डाइरेक्टर’को अवार्ड प्राप्त गरेकी छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व, समर्पण र योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतिक्षा थापा र ओशिमा बानुले म्यानमारमा हासिल गरेको सफलताको अनुभव सञ्चारकर्मीसँग साझा गरेका थिए। प्रतिक्षाले आफ्नो मेहनत तथा हाउस अफ फेसन नेपालका मेन्टरहरूको प्रशिक्षणले अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको बताइन्। राष्ट्रिय निर्देशक बानुले पनि प्रतिक्षाको मेहनत र आफ्नो टिमको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरमा नेपालको गौरव बढाउन सफल भएको धारणा व्यक्त गरिन्।
हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाले नेपाली महिलाको क्षमता, आत्मविश्वास तथा नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो अभियानलाई प्रतिक्षा र बानुको सफलताले थप बल दिएको जनाएको छ।
कार्यक्रममा प्रतियोगिताका टाइटल स्पोन्सर सगून ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत पियूष सरावगी, मिसेस भोग नेपाल सिजन–२ की विजेता डा. सुमी मल्ल, पर्यटनविद् तथा ठमेल पर्यटन विकास परिषद्का पूर्वउपाध्यक्ष गीता गुरुङ र फेसन उद्यमी श्रीजा श्रेष्ठको सहभागिता थियो। उनीहरूले प्रतिक्षाको उपलब्धिको प्रशंसा गर्दै आगामी सिजनमा अझ उत्कृष्ट प्रतियोगीको सहभागिताको अपेक्षा व्यक्त गरे।
मिसेस भोग नेपाल सिजन–४ घोषणा
यसैबीच, पत्रकार सम्मेलनकै क्रममा हाउस अफ फेसन नेपालले विवाहित महिलाको आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित ‘मिसेस भोग नेपाल सिजन–४’ घोषणा गरेको छ।
‘मुकुटभन्दा पर–उपाधिभन्दा ठूलो एउटा यात्रा’ नारासहित आयोजना हुने चौथो संस्करणलाई सौन्दर्य र ताजको प्रतिस्पर्धामा मात्र सीमित नराखी व्यक्तिगत रूपान्तरण, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, सञ्चार क्षमता तथा अन्तर्राष्ट्रिय अवसरसँग जोडिएको यात्राका रूपमा अघि बढाइने आयोजकले जनाएको छ।
यस संस्करणको विशेष आकर्षणका रूपमा भौतिक अडिसन नहुने भएको छ। नेपालका विभिन्न स्थान तथा विदेशमा रहेका इच्छुक महिलाले समेत सहज रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले सम्पूर्ण अडिसन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिनेछ। आयोजकले आइतबार साँझदेखि नै सामाजिक सञ्जालमार्फत आवेदन खुला गरेको जनाएको छ।
सहभागी हुन इच्छुक महिलाले आधिकारिक अनलाइन आवेदन फाराम भरेर आफ्नो प्रोफाइल तथा आवश्यक विवरण डिजिटल माध्यमबाट बुझाउन सक्नेछन्। प्रारम्भिक छनोटमा परेका आवेदकलाई अडिसन प्रक्रियाअघि आवश्यक काउन्सेलिङ तथा मार्गदर्शन प्रदान गरिनेछ।
हाउस अफ फेसन नेपालकी निर्देशक ओशिमा बानुले छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन सहभागीको व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति शैली तथा समग्र सम्भावनालाई प्रमुख आधार बनाइने बताइन्।
छनोट भएका सहभागीलाई प्रतियोगिताको यात्राका क्रममा विभिन्न व्यावसायिक ग्रुमिङ तथा प्रशिक्षण कार्यक्रममा सहभागी गराइनेछ। प्रशिक्षणमा आत्मविश्वास, सञ्चार क्षमता, स्टेज प्रेजेन्स तथा व्यक्तित्व विकासमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।
‘बियोन्ड द क्राउन’ अवधारणाअन्तर्गत महिलालाई केवल प्रतियोगिताको विजेताका रूपमा नभई समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासी तथा सक्षम नेतृत्वकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सहभागीलाई आफ्नो मौलिक पहिचान, क्षमता तथा प्रतिभालाई सशक्त रूपमा प्रस्तुत गर्न र व्यक्तिगत पहिचानलाई व्यावसायिक रूपमा विकास गर्न आवश्यक मार्गदर्शनसमेत प्रदान गरिनेछ।
आयोजकका अनुसार सिजन–४ का विजेताले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्दै ग्लोबल एक्सपोजर प्राप्त गर्ने अवसर पाउनेछन्। आगामी जनवरीमा आयोजना हुने ग्रान्ड फिनालेका विजेताका लागि पाँच लाख रुपैयाँसम्मका नगद तथा अन्य उपहार र अवसर उपलब्ध गराइनेछ।
मिसेस भोग नेपाल सिजन–४ लाई ताज र उपाधिमा मात्र सीमित नराखी आत्मविश्वास, रूपान्तरण, नेतृत्व, व्यक्तित्व विकास, व्यावसायिक वृद्धि र अन्तर्राष्ट्रिय अवसरतर्फको यात्राका रूपमा अघि बढाउने आयोजकको भनाइ छ। विवाहित महिलालाई पारिवारिक तथा सामाजिक जिम्मेवारीसँगै आफ्नै पहिचान, सपना र सम्भावनालाई अघि बढाउन प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको जनाइएको छ।










प्रतिक्रिया