सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म ‘हली’ र ‘कमला मिस’ कमजोर साबित भएका छन् । साउन २२ गतेदेखि एकसाथ प्रदर्शनमा आएका यी दुवै फिल्मले दुई सातामा २५ लाख रुपैयाँको ग्रस व्यापारसमेत गर्न सकेनन् ।

चलचित्र विकास बोर्डले आइतबार रातिसम्मको व्यापारलाई आधार बनाएर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘हली’ले दुई सातामा २२ लाख ९६ हजार ९२० रुपैयाँ ग्रस कमाएको छ। यस अवधिमा फिल्मका ८ हजार ३८५ टिकट बिक्री भएका छन्।

छाउपडी तथा हली प्रथाविरुद्ध आवाज उठाइएको फिल्म ‘हली’लाई निर्देशक ओम प्रतिकले लेखेका हुन्। फिल्ममा ओम प्रतिक, सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ।

त्यस्तै, ‘कमला मिस’को व्यापार ‘हली’को तुलनामा पनि कमजोर देखिएको छ। फिल्मले दुई सातामा ८ लाख ६८ हजार ४५० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सो अवधिमा फिल्मलाई २ हजार ६९६ दर्शकले हेरेका छन्।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्म ‘कमला मिस’को निर्देशन निर शाहले गरेका हुन्। फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com