सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जना फिल्मको कलाकार टोलीमा जोडिएकी हुन् ।
अञ्जनाको प्रवेशसँगै फिल्मको कलाकारको लाइनअप थप बलियो बनेको निर्माण पक्षको भनाइ छ । निर्देशक चौधरीले कथाले मागेका र दर्शकको रोजाइमा रहेका कलाकारलाई फिल्ममा जोड्ने क्रम जारी रहेको बताए।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’ मल्टिस्टार फिल्मका रूपमा तयार हुँदैछ। उपन्यासकार बुद्धिसागरले फिल्मको कथा तथा पटकथा लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ विधामा निर्माण हुनेछ।
सौरभले यसपटक अघिल्ला फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले फिल्मलाई नेपाली फिल्म क्षेत्रकै ठूलो स्केलको एक्सन फिल्ममध्ये एक हुने दाबी गरेको छ।
फिल्मको छायांकन आगामी सातादेखि सुरु गर्ने तयारी छ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तय गरेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा छन्।










प्रतिक्रिया