सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नायिका नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर दर्शकमा उत्साह देखिएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनपूर्व प्रचारप्रसारका लागि देश दौडाहामा रहेको फिल्मको टोली मंगलबार चितवन पुगेको थियो । चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक, कथाकार तथा अभिनेत्री नीता ढुंगानाले ‘पार्वती’ले अटिजमको विषयलाई केन्द्रमा राखेर दर्शकलाई फरक स्वाद दिने बताइन् ।

अटिजम भएकी एक महिलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा दिदी–भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई प्रस्तुत गरिएको छ । फिल्ममा नीताले अटिजम भएकी महिलाको भूमिका निर्वाह गरेकी छन् भने अशोक दर्जी उनको भाइको भूमिकामा देखिएका छन् ।

नीताले अशोकले निर्वाह गरेको भाइको भूमिकामा अन्य कलाकारलाई कल्पना गर्नसमेत नसक्ने बताइन् । फिल्म प्रदर्शनपछि दर्शकले समेत अटिजमको विषयलाई गम्भीर रूपमा मनन गर्ने उनको विश्वास छ ।

अटिजम संवेदनशील विषय भएकाले आफूले लामो समय अध्ययन र अनुसन्धान गरेर मात्रै पात्रलाई पर्दामा उतारेको नीताले बताइन् । अटिजम भएका महिलाको दैनिक जीवनलाई नजिकबाट नियालेर आफूले फिल्म निर्माण गरेको उनको भनाइ छ ।

अशोक दर्जीले ‘पार्वती’ सबैले हेर्नुपर्ने सामाजिक कथामा आधारित फिल्म भएको बताए । त्यस्तै, निर्माता हरिहर अधिकारीले फिल्मको टिजर, ट्रेलर तथा गीतबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको जानकारी दिए । प्रदर्शनपछि फिल्मको कथाले नै दर्शकसँग संवाद गर्ने उनको भनाइ छ ।

फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ । ‘पार्वती’ भदौ १२ गतेदेखि नेपालसँगै विभिन्न विदेशी बजारमा समेत प्रदर्शनमा आउने तयारीमा छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com