सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीबाट प्रभावितका लागि प्रदान गरिने भएको छ। निर्मात्री तथा निर्देशक नीता ढुंगानाले फिल्मको ओपनिङ कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताइन्। नीताले बुधवार बेलुकी व्यक्तिगत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँसमेत जम्मा गरेकी थिइन्।

‘कर्मले पनि केही गर्नुपर्‍यो भनेर पहिलो दिन जति कलेक्सन हुन्छ, त्यति रकम सबै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दैछौं,’ नीताले भनिन्। मिलेसम्म बाढी प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्ने योजना पनि रहेको नीताले बताइन् । ‘हामीले यो फिल्म पैसा कमाउनका लागि मात्र बनाएका होइनौं,’ उनले भनिन्, ‘मेरो फिल्मको पहिलो दिनको बक्सअफिस कलेक्सन कोषमा दिऊँ कि भनेर यो निर्णय गरिएको हो।’

सामाजिक कथावस्तुमा आधारित फिल्म ‘पार्वती’मा नीताको शीर्ष भूमिका छ। उफिल्ममा अटिजम भएकी एक महिलाको जीवन, उनका भाइसँगको आत्मीय सम्बन्ध, प्रेम तथा समाजसँगको संघर्षलाई मुख्य विषय बनाइएको छ ।

नीता ढुङ्गानाको कथा तथा निर्देशन रहेको फिल्म दिदी र भाइबीचको माया तथा स्नेहमा केन्द्रित छ। फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा नीता ढुङ्गानाकै रहेको छ भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन्।

हरिहर अधिकारी निर्माता रहेको फिल्ममा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर छन्। फिल्मको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com