सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’ प्रदर्शनअघि नै एक गीतका कारण विवादमा तानिएको थियो । गायक दुर्गेश थापाले तयार पारेको दुईअर्थी भावको ‘म्याथ सिक्ने भए’ गीत विवादमा परेपछि सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियानसमेत चलेको थियो। पछि प्रियंकाले माफी माग्दै गीत हटाए पनि त्यसको असर अहिले फिल्मको व्यापारमा परेको छ।
यद्यपि, प्रियंका अझै फिल्म चलाउन दौडधुप गरिरहेकी छन् । बुधबार उनले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा शिक्षक महासंघका पदाधिकारीसहित शिक्षक-शिक्षिकालाई फिल्म देखाएकी थिइन्।
फिल्म सकिएपछि आफ्नो धारणा राख्ने क्रममा प्रियंका भावुक भएकी थिइन्। उनले विवादित गीतलाई लिएर शिक्षक-शिक्षिकासामु शिर झुकाएर माफीसमेत मागिन्। उनले भनिन्, ‘मेरो नियत कहिल्यै गलत थिएन। गीत भाइरल बनाऊँ, यो गरौं भन्ने कुनै योजना पनि थिएन। त्यो हामीले सोच्दै नसोचेको कुरा भयो। त्यसका लागि म शिर झुकाएर माफी माग्छु।’
उनले यसपटक आफैंसँग निराश भएको पनि बताइन्। ‘म आफैंसँग निराश भएकी हुँ। मानिस भएपछि कहिलेकाहीँ गल्ती हुन्छ। तर, यो गल्ती चाहिँ कसरी मबाट भयो भन्ने सोच्न पनि सकेकी छैन,’ उनले भनिन्, ‘आज मेरो आँसु रुवाइको होइन, म रिलिफ भएकी हुँ। यो आँसु मैले धेरै दबाएकी थिएँ।’
फिल्म हेरेका शिक्षक-शिक्षिकाले राम्रो प्रतिक्रिया दिएपछि प्रियंकाले खुसी व्यक्त गरिन्। ‘मैले विज्ञप्ति जारी गरेर माफी मागेको भए त्यो सही ठाउँमा पुग्यो कि पुगेन भन्ने कुराले मनमा शान्ति थिएन। उहाँहरूले माफ गर्नुभयो कि भएन भन्नेमा पनि म अन्योल थिएँ। फिल्म हेरेपछि उहाँहरूले दिनुभएको प्रतिक्रियाले एकदमै खुसी छु,’ उनले भनिन्।










प्रतिक्रिया