सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेकी मानसी शर्मा असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कार्की साइला’मा ‘कार्की साइली’को भूमिकामा दर्शकमाझ प्रस्तुत भएकी छन्। आम नेपाली सिनेप्रेमीका लागि मानसी नयाँ अनुहार हुन्। अर्थात्, उनी भर्खरै नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछिन्।
यतिबेला मानसीमा एकातिर जितु नेपाल, प्रियना आचार्यजस्ता कलाकारसँग स्क्रिन सेयर गरेको उत्साह छ भने अर्कोतिर कलाकारका रूपमा आफूलाई स्थापित गराउने चुनौती र ‘अब के होला?’ भन्ने उत्सुकता पनि छ।
आफूले अधिकतम प्रयास गरेको र त्यसले सार्थकता पाउनेमा उनी आशावादी छिन्। फिल्मलाई लिएर उत्साहित मानसी आफू कलाकार बन्नकै लागि जन्मिएको बताउँछिन्। भर्खरै सुरु हुन लागेको आफ्नो अभिनय करियर, त्यसप्रतिको आशा र उत्सुकताबारे उनीसँग गरिएको कुराकानी :
‘कार्की साइला’मा कसरी जोडिनुभयो?
करिब तीन वर्षअघि एउटा फिल्म गर्न लागेको थिएँ। तर भवितव्यका कारण मेरी ममी बित्नुभएपछि एक वर्ष काम नगरी बसेँ। पछि निर्देशक राजेन्द्र बस्नेतले प्रस्ताव गरेपछि ‘कार्की साइला’मा जोडिएँ।
कलाकारिता पहिलेदेखिको तपाईंको सपना थियो कि जीवनमा अघि बढ्दै जाँदा रोजिएको बाटो हो?
मैले कक्षा १ मा हुँदा ‘किताब’ भन्ने एउटा फिल्म गरेको थिएँ। त्यहीँबाट मलाई अभिनयमा रुचि जाग्यो। त्यो फिल्म गरिसकेपछि स्कुल, मामाघर आदि जाँदा मेरा दिदीबहिनी र चिनेजानेकाहरूले ‘ऊ हिरोइन हो, ऊ हिरोइन पनि हो’ भन्नुहुन्थ्यो। त्यहीँबाट मेरो रुचि बढ्न थालेको थियो। म नाच्न पनि जान्दिनथेँ, अरू केही गर्न पनि जान्दिनथेँ। तर डान्स क्लास जाने गर्थें।
अब व्यावसायिक रूपमा यही क्षेत्रमा लाग्छु भनेर चाहिँ कहिलेदेखि सोच्नुभयो?
लगभग तीन वर्ष भयो। पहिले एउटा फिल्ममा मलाई काम आएको थियो, तर त्यो फिल्म गर्न पाइनँ। मैले एक वर्ष वेट मेन्टेनदेखि डान्स क्लास र एक्टिङ क्लाससम्म सबै गरेँ। एक वर्षपछि अब काम गरौँ भन्ने बेला मेरी ममी बित्नुभएपछि मैले सबै छोडिदिएँ। त्यसपछि फेरि सुरु गरेँ।
पहिलो अभिनयको अवसर कसरी पाउनुभएको थियो?
मेरो ड्याडीको माध्यमबाट मलाई काम आएको थियो। ‘मेरी छोरीलाई यस्तो–यस्तो कुरामा इन्ट्रेस्ट छ’ भनेर ड्याडीले भन्नुभएको थियो। उहाँ अङ्ग्रेजी विषयको शिक्षक हुनुहुन्छ। उहाँले पढाउनुभएको एक जना विद्यार्थी राइटर हुनुहुँदो रहेछ। उहाँले ‘म यस्तो–यस्तो फिल्म गर्दैछु’ भन्नुभएको रहेछ। त्यसैले ड्याडीले ‘मेरी छोरी पनि इन्ट्रेस्टेड छ’ भनेर मलाई लिएर जानुभएको थियो।
त्यहाँबाट एउटा काम गरेँ। त्यसमा साइड क्यारेक्टर थियो। त्यो क्यारेक्टरमा गरेको अभिनय उहाँहरूलाई मन परेछ। ‘तिमीले काम कस्तो राम्रो गर्छौ, अर्को फिल्ममा हामी जोडिनुपर्छ’ भनेर त्यतिबेलै भन्नुभएको थियो।
खास यो फिल्मका लागि कसले अप्रोच गर्नुभएको थियो?
यो फिल्मका लागि चाहिँ राजेन्द्र बस्नेत सरले अप्रोच गर्नुभएको थियो। मैले उहाँसँग काम गरेको ‘प्रेमगीत’ भन्ने फिल्म रिलिज भएको छैन। उहाँसँग काम गरेपछि उहाँको टिमका सबैलाई मेरो काम मन परेछ। ‘अब नेक्स्ट हामी यस्तो गर्दैछौँ’ भनेर हामी एक वर्षदेखि नै प्रतीक्षामा थियौँ। त्यसको एक वर्षपछि यो फिल्म बनेको हो।
यो फिल्ममा आफ्नो भूमिका यस्तो हो भन्ने थाहा पाएपछि कस्तो लागेको थियो?
फिल्ममा प्रमुख भूमिकामध्ये एक भन्नेबित्तिकै सुरुमा मलाई डर लागेको थियो। ‘म पर्फेक्ट छैन’ भन्ने लागेको थियो। डर सँगसँगै ‘मान्छे भएपछि हरेक चुनौती सामना गर्न सक्नुपर्छ’ भन्ने पनि थियो।
फेरि यो फिल्ममा ड्रंक क्यारेक्टर छ। ड्रंक क्यारेक्टरलाई कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो। अनि बिस्तारै अब्जर्भ गरेँ। ड्रंक लेडिजहरूलाई हेर्न गएँ। आफू त ड्रिंक गर्दिनँ, त्यही भएर अरूलाई हेरेँ, सिकेँ।
वर्कसपमा निर्देशकहरू, चिफ एडी सबै जना बसेर छलफल गर्यौँ—यस्तो गरेर गर्ने, यस्तो गरेर गर्ने भनेर। त्यहीँबाट ‘ए, म केही गर्न सक्छु’ भन्ने आत्मविश्वास आयो।
आफूले जस्तो खालको भूमिका गर्छु भनेर सोच्नुभएको थियो, काम गरिसकेपछि त्यस्तै गर्न सकेँ भन्ने लागेको छ?
यस्तो हो, मैले काम गर्दा जे कुरालाई पनि एक सय प्रतिशत नै दिन्छु। मैले आफ्नोतर्फबाट एक सय प्रतिशत नै दिएको छु। अब त्यो दर्शकको हातमा छ। उहाँहरूले कति माया गर्नुहुन्छ, कति साथ दिनुहुन्छ र मेरो क्यारेक्टरलाई कत्तिको बुझिदिनुहुन्छ भन्ने कुरा हो।
त्यो त सेकेन्डरी भयो। आफूले आफैँलाई मूल्यांकन गर्दा चाहिँ कस्तो लाग्छ?
त्यो हिसाबले पनि मैले सय प्रतिशत नै दिएको छु। ‘तिम्रो यस्तो खालको क्यारेक्टर हो’ भन्नेबित्तिकैदेखि मैले आफूलाई मेन्टेन गरेर बसेँ।
‘यस्तो टाइपको क्यारेक्टर तिम्रो हो’ भन्नेबित्तिकै ‘ए, ड्रंक है’ भनेर म आफैँ ऐनाअगाडि जान्थेँ। ड्रंक भएर कुरा गर्थेँ। अनि भिडियो बनाएर निर्देशक र मुख्य सहायक निर्देशकलाई पठाउँथेँ, ‘हेर्नुहोस्, मेरो कस्तो भइरहेको छ’ भनेर। उहाँहरूले ‘अझै गर्दै जाऊ’ भन्नुहुन्थ्यो। मैले त्यसरी नै तयारी गर्दै आएको हुँ। त्यसैले मैले आफ्नोतर्फबाट एक सय प्रतिशत दिएको छु जस्तो लाग्छ।
यो फिल्ममा जितु नेपाल, प्रियना आचार्यजस्ता कलाकार हुनुहुन्छ। यस्तो अवस्थामा आफूलाई छुट्टै परिचय फिल्मले दिन्छ भन्ने कत्तिको विश्वास छ?
फिल्म हेरिसकेपछि मैले जितु दाइसँग जोडिन पाएँ नि, त्यो मुख्य कुरा हो। अब कार्की साइला जितु दाइ हुनुभयो, कार्की साइली भएँ म र प्रियना चाहिँ निर्जला हुनुहुन्छ। ‘कार्की साइली’ भनेर दर्शकहरूले याद गर्नुहुन्छ होला।
यो फिल्म किन हेर्नुपर्छ?
यसले दैनिक मजदुरी गर्ने भरियाको कथा भन्छ। उसले संघर्ष गरेर कसरी आफ्नो घरपरिवार, समाज र जीवनलाई अगाडि बढाउने क्रममा आउने विभिन्न घुम्तीहरूलाई पर्दामा देखाउँछ।
भरियाको जीवन साधारण हो भनेर धेरैले सोच्नुहुन्छ। तर उहाँहरूको पछाडि कति संघर्ष छ, के गरेर गुजारा गरिरहेका हुन्छन् भन्ने कुरा पनि फिल्ममा छ। केही कुरा सिकाइ पनि होला, केही रमाइलो पनि होला। त्यही भएर यो फिल्म एकपटक हेर्नैपर्छ।
कस्तो खालको क्यारेक्टरका लागि चाहिँ आफूलाई मानिसहरूले सम्झिऊन् भन्ने लाग्छ?
म जुनसुकै क्यारेक्टर गर्न पनि पछि नहट्ने मान्छे हुँ। जुनसुकै क्यारेक्टर गर्न तयार छु।
अभिनयको कुनै औपचारिक प्रशिक्षण लिनुभएको छ?
लिएको छु। एक वर्षजति अभिनय सिकेँ। त्यसपछि हाम्रो फिल्मका लागि रेडी भएपछि वर्कसपहरूमा पनि गएँ।
आफू चाहिँ कुन कलाकारको ठूलो फ्यान हुनुहुन्छ? जसको काम देखेर ‘वाउ, यो हो नि’ भन्ने लाग्छ? नेपाली हुनुपर्छ भन्ने छैन।
मलाई बेस्ट लाग्ने भनेको प्रियंका दिदी हो। प्रियंका दिदीले हार्डवर्क गरेको हेर्छु। उहाँबाट म धेरै प्रेरित छु। उहाँका हरेक कुरा फलो गर्छु। उहाँका कामहरू हेर्छु। उहाँले फ्यामिलीलाई सम्हाल्नुभएको हेर्छु, बाहिरको लाइफस्टाइल हेर्छु। उहाँबाट चाहिँ एकदमै मोटिभेटेड छु।
यो फिल्म करियरका लागि ड्याडीको कस्तो खालको सपोर्ट छ?
सुरु-सुरुमा त थिएन। म वकिल बन्न आएको थिएँ। म एलएलबीको अन्तिम वर्षमा छु। ‘लाइसेन्सका लागि एक्जाम देऊ, छोरी पढ, पढ, पढ’ भनिरहनुभएको थियो ड्याडीले।
जब मैले काम गर्न सुरु गरेँ, एकदम डेडिकेटेड भएर अगाडि बढेँ। त्यसपछि ड्याडीले पनि बुझ्नुभयो—‘ए, हो रहेछ, मेरी छोरीलाई यही फिल्डमा धेरै इन्ट्रेस्ट रहेछ।’ त्यसपछि ‘हुन्छ, तिमी त्यहाँ पनि गर’ भनेर सपोर्ट गर्नुभयो। मैले काम गरेको ‘बिगुल’ रिलिज भइसकेपछि उहाँले मलाई सपोर्ट गर्नुभएको हो ।






प्रतिक्रिया