सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । पल शाह र मलिका महतको जोडीलाई दर्शकले रुचाएका छन्। फिल्म ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियोलाई युट्युबमा ६० लाख ५० हजारभन्दा बढीपटक हेरिएको छ। गीत रिलिज भएको सातौँ दिनमै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा समेत पुगेको निर्माण पक्षले जनाएको छ।

समाचार तयार पार्दासम्म गीतको भिडियोमा एक लाखभन्दा बढी लाइक प्राप्त भइसकेको छ भने ६ हजार ६ सयभन्दा बढी कमेन्ट छन्। कमेन्टमा दर्शकले पल शाह र मलिका महतको जोडीको प्रशंसा गरेका छन्। कतिपय दर्शकले उनीहरूलाई ‘राजा–रानी’को जोडी भन्दै प्रतिक्रिया दिएका छन्।

प्रेमकुमार नामका एक दर्शकले कमेन्टमा लेखेका छन्, ‘नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी पल र मलिका साँच्चिकै भन्नुपर्दा एकदमै परफेक्ट जोडी हुन्। नेपाली फिल्म क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ। निर्देशक तथा निर्माताको पनि ध्यान यो जोडीमाथि जाओस्। आउँदा दिनमा पल र मलिकाको जोडीलाई लिएर अझ धेरै राम्रा, स्तरीय र दर्शकको मन छुने फिल्म हेर्न पाइयोस्।’

दर्शकको चाहनाअनुसार नै पल र मलिकालाई फिल्ममा जोडीका रूपमा प्रस्तुत गरिएको निर्देशक चन्द्र पन्तले बताएका छन्। उनले दर्शकको मागअनुसार कथा तयार पारेर सोही जोडीलाई फिल्ममा प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया पाएको बताए।

‘दर्शकको मागअनुसार नै हामीले फिल्मको कथा लेखेका हौँ। सोही जोडीलाई फिल्ममा राख्दा दर्शक खुसी हुनुभएको हो,’ पन्तले भने। एक साताअघि सार्वजनिक भएको ‘अचेल किन कान्छी’ फिल्मको सर्वाधिक चर्चामा रहेको गीत बनेको छ। गीतले छोटो समयमै उल्लेख्य भ्युज पाएसँगै अब छिट्टै एक करोड भ्युज नाघ्ने अपेक्षा निर्माण पक्षको छ।

डान्सिङ शैलीको गीतमा पल शाह र मलिका महतसँगै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ। सामूहिक विवाहको प्रसंगमा पल र मलिकाको नृत्यमा आकाश खलनायकका रूपमा प्रस्तुत भएका छन्। रमाइलो शैलीमा तयार पारिएको गीतमा आकाश किन खलनायकको भूमिकामा देखिएका हुन् भन्ने प्रश्नको जवाफ भने फिल्म प्रदर्शनपछि खुल्ने निर्माण पक्षले जनाएको छ।

पल शाह र मलिका महतले पहिलोपटक यही फिल्ममा सहकार्य गरेका हुन्। गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। गीतमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालको कोरस गायन सुन्न सकिन्छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने आरआर फिल्म्सले फिल्मलाई नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com