सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सम्पन्न भएको छ। अस्त्र फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन ९० दिनमा पूरा भएको निर्माण टिमले जनाएको छ।
फिल्मका दृश्यहरू नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा समेत छायांकन गरिएको छ। निर्माण टिमका अनुसार निर्धारित तालिकाभन्दा केही बढी समय लिएर कथावस्तु र दृश्यको आवश्यकताअनुसार छायांकन गरिएको हो।
कलाकार तथा प्राविधिकको मेहनत र सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोस्ट प्रोडक्सनमा पनि पर्याप्त समय र ध्यान दिने जनाएको छ। दर्शकलाई उत्कृष्ट फिल्म प्रस्तुत गर्ने उद्देश्यले निर्माणको हरेक चरणमा गुणस्तरलाई प्राथमिकता दिइएको टिमको भनाइ छ।
अस्त्र फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे छन्। फिल्मको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने पटकथा लेखन वर्षा पौडेलले गरेकी छन्।
फिल्ममा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन्। सोफीले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन्। सुधनको यो तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने पहिलो हो। उनले यसअघि अभिनय गरेका दुई फिल्म प्रदर्शन हुन बाँकी छन्।
‘जुबा’को निर्माण घोषणा भएसँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो। पोस्टरमा सौगातको एकल लुक्स, पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य तथा सिगारसहित सुधनको लुक्स प्रस्तुत गरिएको थियो। सुधनको लुक्सले उनको भूमिका खलपात्रको हुन सक्ने संकेत गरेको छ।
कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले फिल्मको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुन सक्ने संकेत गर्छ। यद्यपि, फिल्मको विस्तृत कथावस्तु निर्माण टिमले सार्वजनिक गरेको छैन।







प्रतिक्रिया