सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म प्रदर्शनमा आउन एक दिन बाँकी रहँदा ‘अक्षरा’को स्याड सङ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्ममा समावेश ‘भाग्यले हो कि’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई देखाइएको छ। ‘भाग्यले हो कि मलाई जिन्दगीले ढाँट्यो’ भन्दै न्यान्सीलाई भावुक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा सुशील र रिस्ता पनि भावुक देखिन्छन्।

गीतको भिडियोले फिल्मको कथासँग जोडिएको भावनात्मक प्रसंगलाई संकेत गरेको छ। गीतको वास्तविकता र यसले फिल्मको कथामा पार्ने प्रभाव भने आगामी शुक्रबारदेखि हलमा फिल्म हेरेपछि मात्रै खुल्नेछ।

‘भाग्यले हो कि’मा रचना रिमालको स्वर रहेको छ। गीतका शब्द सुरेन्द्र रानाले लेखेका हुन् भने संगीत कर्णराज गिरीको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

असोज २३ गतेदेखि प्रदर्शनमा आउने ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायत कलाकारको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना छन्।

उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता उग्रसेन ढुंगानाले लेखेका हुन्। फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा तयार पारेका छन्। फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुंगाना) हुन्।

दीपेन बस्न्यातले छायांकन गरेको फिल्मको सम्पादन गौतम खड्काले गरेका छन्। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्मलाई नेपालभर वितरण गर्ने जिम्मेवारी लिएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com