सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘आ बाट आमा २’को प्रचारप्रसारका लागि विपना थापा, पल शाह, मलिका महतसहित कलाकारको टोली देश दौडाहामा छ। असोज ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई तीव्र बनाउने क्रममा निर्माण टिमले बुटवलमा भव्य कन्सर्ट गरेको छ।
बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा पल शाह, मलिका महत र विपना थापाको प्रस्तुति हेर्न बिहानैदेखि हजारौं दर्शक उपस्थित भएका थिए। कलाकारको प्रस्तुति, गीतसंगीत र नृत्यले कन्सर्टको माहोल उत्साहपूर्ण बनेको थियो।
कन्सर्टमा फिल्मका कलाकार विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी, गायिका गंगा सोनाम र जुरीलगायत सहभागी थिए। फिल्मका गीतकार, संगीतकार तथा गायक बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मकै गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।
त्यस्तै, पल शाह, मलिका महत, विपना थापा, निकिता आचार्य, आकाश श्रेष्ठ र रिस्ता गुरुङको नृत्यले दर्शकको उत्साह थप बढाएको थियो। बिहीबार सार्वजनिक गरिएको दसैं गीतमा कलाकारले नृत्य प्रस्तुत गर्दा दर्शकको हुटिङले कन्सर्टस्थल गुञ्जायमान बनेको थियो।
फिल्मका निर्देशक चन्द्र पन्तले प्रचारप्रसारलाई तीव्रता दिन कलाकारसहितको टोली कन्सर्टमा सहभागी भएको बताए। दर्शकबाट आफूहरूले अथाह माया पाइरहेको उनको भनाइ छ।
कन्सर्टमा सहभागी हुनुअघि निर्देशक पन्तसहितको टोलीले पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा आयोजित कार्यक्रममा कलाकार र पत्रकारबीच फिल्मका विभिन्न पक्षबारे चर्चा गरिएको थियो।
चन्द्र पन्तको कथा तथा पटकथामा बनेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।
फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।







प्रतिक्रिया