सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता अनिल कपूरले आफ्नो शो ‘इन्डियाज टप १%’ को सेटमा फिल्म ‘मिस्टर इन्डिया’का दिनलाई पुनः ताजा गरेका छन् । आगामी एपिसोडको छायांकनका लागि उनी ३९ वर्षअघि उक्त फिल्ममा लगाएको कोट, सर्ट र ट्राउजर लगाएर उपस्थित भएका हुन् ।
अनिलले फिल्ममा लगाएको चर्चित ज्याकेट मुम्बईको ‘चोर बजार’बाट किनेको खुलासा गरेका छन् । फिल्मको चर्चित पहिरनमा पुनः सजिएका उनले ती कपडा अझै आफूलाई उत्तिकै फिट हुने बताएका छन् ।
‘म भन्न चाहन्छु कि त्यो सर्ट, ट्राउजर र ज्याकेट मलाई अहिले पनि ठ्याक्कै फिट हुन्छ । ३९ वर्ष बितिसक्दा पनि सबै कपडा मलाई उत्तिकै मिल्छन् । निर्माण टोलीले ‘मिस्टर इन्डिया’को पहिरन पाए हुन्थ्यो भन्दा मैले ती कपडा अझै जतन गरेर राखेको छु भनेको थिएँ,’ उनले भने ।
उनले फिल्ममा जस्तै लामो कपालसमेत राखेकाले आफ्नो लुक पूर्ण रूपमा मिलेको बताएका छन् । विशेष एपिसोडको अवधारणाबारे चर्चा गर्दै अनिलले यो कार्यक्रम सामाजिक रूपमा महत्त्वपूर्ण रहेको बताए।
शेखर कपूरको निर्देशनमा बनेको साइन्स फिक्सन सुपरहिरो फिल्म ‘मिस्टर इन्डिया’ सन् १९८७ मे २५ मा प्रदर्शनमा आएको थियो । अनिल कपूर, श्रीदेवी र अमरीश पुरीको मुख्य भूमिका रहेको यो फिल्म अरुण वर्मा नामक एक साधारण भायोलिनवादक तथा समाजसेवीको कथामा आधारित छ । उनले मानिसलाई अदृश्य बनाउन सक्ने विशेष यन्त्र फेला पारेपछि कथाले नयाँ मोड लिन्छ ।







प्रतिक्रिया