सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो साता नेपाली फिल्मले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ । नेपाली फिल्मको बक्स अफिस विवरणअनुसार ‘गौंथली’ले २६ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दा ‘पेन्सन पट्टा’को कमाइ १० करोड रुपैयाँ नजिक पुगेको छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको आइतबारसम्मको विवरणअनुसार प्रदर्शनरत नौ फिल्ममध्ये ‘गौंथली’ सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ। फिल्मका ९ लाख ४४ हजार ६१२ टिकट बिक्री भएका छन्।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ कमाइका हिसाबले दोस्रो स्थानमा छ। फिल्मले आइतबारसम्म ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ। यसको ३ लाख ४७ हजार ८८२ टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।

यस्तै, असोज ९ गतेदेखि प्रदर्शनमा आएको ‘बाः एक योद्धा’ले पनि बक्स अफिसमा सुखद् प्रदर्शन गरिरहेको छ। फिल्मले हालसम्म ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको छ। यसको टिकट बिक्री संख्या १ लाख ७ हजार ५३३ पुगेको छ।

सोही भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘बेहुली’ले भने तुलनात्मक रूपमा कम कमाइ गरेको छ। फिल्मले हालसम्म २ करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ ग्रस कमाएको छ। यसका १ लाख ६ हजार ५४३ टिकट बिक्री भएका छन्।

‘बाः एक योद्धा’सँगै प्रदर्शनमा आएको ‘आचार्य’को कमाइ १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ पुगेको छ। फिल्मका ५६ हजार १९९ टिकट बिक्री भएका छन्।

त्यस्तै, ‘झिंगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘तिमीहरू–एलिफेन्ट्स इन द फग’ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ ग्रस कमाएका छन्।

पछिल्लो समय प्रदर्शनमा आएका ‘चमेलीको पोइ’ र ‘चंगुल’को कमाइ भने कमजोर देखिएको छ। बोर्डका अनुसार ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com