सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । यस वर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। फिल्मले देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च सङ्ख्यामा शो पाउने देखिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले हालसम्म काठमाडौं उपत्यकामा २६ र मोफसलमा २० शो उपलब्ध गराएको छ।

फिल्मको गीत ‘थाक खोला’ तथा पोस्टर, टिजर र ट्रेलरजस्ता प्रचार सामग्रीले दर्शकमाझ उच्च अपेक्षा जगाएका छन्। त्यसको प्रभाव अग्रिम टिकट बुकिङका लागि खुला गरिएका शोमा पनि देखिएको छ। सुरुवाती चरणमै फिल्मले देशभर १०० भन्दा बढी शो पाइसकेको छ। अझै धेरै हलमा शो खुल्न बाँकी रहेकाले शुक्रबार बिहानसम्म २०० भन्दा बढी शोसहित प्रदर्शनमा आउने वितरकको अपेक्षा छ।

नेपाली फिल्म बजारमा इतिहास रचेका ‘कबड्डी’ शृङ्खलाका अघिल्ला चारवटै फिल्म बक्स अफिसमा सुपरहिट तथा ब्लकबस्टर साबित भइसकेका छन्। यही लोकप्रियतालाई निरन्तरता दिने लक्ष्यसहित निर्माण गरिएको यस वर्षको बहुप्रतीक्षित फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मका मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com