सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार दीपकराज गिरी डेब्यु फिल्म ‘६ एकान६’ देखि नै सफल छन् । यो समूहले निर्माण गरेका फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक जोडिने फिल्मले कति कमाइ गर्छ भन्ने मात्र चर्चा हुन्छ । तर, यसपटक भने यो समूहको फिल्म ‘छ माया छपक्कै २’ले बक्स अफिसमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन।

गत असोज ३१ गते दसैँको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दुई साता बितिसक्दा पनि घरेलु बजारमा साढे तीन करोड रुपैयाँ हाराहारी मात्रै ग्रस कलेक्सन गरेको छ । फिल्मले घरेलु बजारबाटै लगानी उठाउन कठिन देखिएपछि अभिनेता तथा निर्माता दीपकले यसको असफलताको जिम्मेवारी आफूले लिने बताएका छन् । उनले फिल्मले अपेक्षित सफलता हासिल गर्न नसक्नुमा आफू मुख्य रूपमा जिम्मेवार रहेको बताएका हुन् ।

‘फिल्म सफल हुँदा मैले गर्दा हुन्छ भने असफल पनि मैले गर्दा नै हो भने मैले ढुक्कसँग भन्न सक्नु पर्छ, मैले नै जिम्मेवारी लिनु पर्छ । फिल्मले राम्रो प्रतिक्रिया पाएको छ, तर जति सफल हुनुपर्थ्यो, त्यो हुनसकेको छैन । ‘छ माया छपक्कै २’को असफलताको जिम्मेवार व्यक्ति भनेको ९८ प्रतिशत म हो। त्यो जिम्मेवारी मैले लिनैपर्छ,’ उनले भने।

उनले फिल्मको छायाङ्कन सुरु हुनुभन्दा केही दिनअघि एक कलाकारले काम गर्न नसक्ने जानकारी गराउँदा आफूलाई सिर्जनात्मक दबाब परेको प्रसङ्ग पनि सुनाएका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, कार्म, शनिशा भट्टराई, रिहान गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com