सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नितेश तिवारीको निर्देशनमा बनेको पौराणिक फिल्म ‘रामायण’को ग्लोबल प्रिमियर अमेरिकाको लस एन्जलसमा आयोजना गरिएको छ । बुधबार आयोजित विशेष प्रदर्शनमा फिल्मका मुख्य कलाकारसँगै हलिउडका चर्चित व्यक्तित्वहरू पनि सहभागी भएका थिए ।
लस एन्जलसस्थित एकेडेमी म्युजियम अफ मोसन पिक्चर्सको डेभिड गेफेन थिएटरमा फिल्मको विशेष थ्रीडी प्रदर्शन गरिएको हो । कार्यक्रममा विशेष निमन्त्रणा पाएका पाहुनाहरूलाई मात्रै सहभागी गराइएको थियो ।
फिल्ममा भगवान् रामको भूमिका निर्वाह गरेका रणबीर कपूर, रावणको भूमिकामा रहेका यश र माता सीताको भूमिकामा देखिएकी साई पल्लवी रेड कार्पेटमा उपस्थित भएका थिए । उनीहरूले प्रशंसकसँग भेटघाट गर्नुका साथै तस्बिर पनि खिचाएका थिए । प्रिमियरमा रणबीर सिल्भर रङको चम्किलो बन्दगला पोसाकमा देखिएका थिए। उनले रेड कार्पेटमा उपस्थित प्रशंसकहरूको अभिवादन स्वीकार गरेका थिए ।
त्यस्तै, रावणको भूमिकामा रहेका यश पत्नी तथा पूर्वअभिनेत्री राधिका पण्डितसँग प्रिमियरमा पुगेका थिए। यश कालो रङको आकर्षक पोसाक, विशेष ब्रोच र कालो चस्मामा देखिएका थिए। राधिका भने हरियो र सुनौलो रङको रेशमी साडीमा उपस्थित भएकी थिइन् । माता सीताको भूमिकामा रहेकी साई पल्लवी रातो रङको जरदोजी साडीमा देखिएकी थिइन्। साडीमा गरिएको मसिनो कढाइले उनको पहिरनलाई विशेष बनाएको थियो।
प्रिमियरको सबैभन्दा चर्चित क्षणमध्ये रणबीर कपूर र यशले एकअर्कालाई अँगालो हालेको दृश्य पनि रह्यो। उनीहरूको भेटको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा चर्चामा छन् ।
प्रिमियरमा फिल्मका मुख्य कलाकार र निर्माण टोलीका सदस्यसँगै जेडा पिङ्केट स्मिथ, रोहिणी अय्यर, बेन्जी केली र जिसेला मारेंगोलगायत व्यक्तित्वहरू पनि सहभागी भएका थिए। पहिलो प्रदर्शनअघि हल भारतीय तथा विदेशी पाहुनाहरूले भरिएको भिडियोसमेत सामाजिक सञ्जालमा चर्चित बनेको छ।
अग्रिम टिकट बिक्रीमा सुरुवाती उत्साह देखिएको भनिएको ‘रामायण’को बजेट करिब दुई हजार करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। व्यापारिक अनुमानअनुसार फिल्मले भारतमा प्रदर्शनको पहिलो दिन ११० करोड भारतीय रुपैयाँभन्दा बढी नेट कमाइ गर्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि, यो प्रारम्भिक अनुमान मात्रै हो। फिल्म प्रदर्शनमा आएपछि वास्तविक व्यापारबारे स्पष्ट हुनेछ।
नमित मल्होत्राको निर्माणमा बनेको फिल्म आगामी ५ नोभेम्बर २०२६ मा प्रदर्शन हुने तयारीमा छ । फिल्ममा रणबीर कपूर, साई पल्लवी र यशका अतिरिक्त काजल अग्रवाल, रकुल प्रीत सिंह, विवेक ओबेरोय, कुणाल कपूर, आदिनाथ कोठारे, अरुण गोविल, इन्दिरा कृष्णन र लारा दत्तालगायत कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहनेछ।







प्रतिक्रिया