सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विसं २०८१ सालको दसैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’बाट अभिनेता विराज भट्टले निर्देशनसँगै अभिनयमा पनि लामो समयपछि कमब्याक गरेका थिए । यही फिल्मबाट अभिनेता समीर भट्टले पनि डेब्यू गरेका थिए ।
बाबुछोराको मुख्य भूमिका रहेको फिल्मले बक्सअफिसमा करिब २० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । फिल्मको व्यावसायिक सफलतासँगै नेपाली फिल्ममा एक्सन विधा पुनः चर्चामा आएको थियो । त्यसपछि नेपालमा एक्सन फिल्म निर्माणको लहर नै चल्यो । तर, त्यसयता प्रदर्शनमा आएका ‘बलिदान’, ‘राम नाम सत्य’ र ‘आचार्य’ जस्ता एक्सन फिल्मले भने अपेक्षाकृत सुखद् व्यापार गर्न सकेनन् ।
पहिलो फिल्मको व्यावसायिक सफलताबाट उत्साहित विराजले ‘१२ गाउँ’को सिक्वेल घोषणा गरे । उनकै निर्देशनमा बनेको ‘१२ गाउँ २’ यस वर्षको दसैंमा गत असोज ३० गतेदेखि प्रदर्शनमा आएको हो । तर, प्रदर्शनको १० दिन बितिसक्दा पनि फिल्मको व्यापार अघिल्लो भागको तुलनामा निकै कमजोर देखिएको छ ।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार, आइतबार साँझसम्म फिल्मले एक करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मका ५७ हजार ९८३ टिकट बिक्री भएका छन्। दसैंमा प्रदर्शनमा आएका फिल्ममध्ये ‘१२ गाउँ २’को व्यापार सबैभन्दा कमजोर देखिएको छ ।
पहिलो भागले करिब २० करोड रुपैयाँ कमाएका कारण सिक्वेलबाट पनि राम्रो व्यापारको अपेक्षा गरिएको थियो । तर, अहिलेसम्मको बक्सअफिस आँकडाले त्यो अपेक्षा पूरा हुन नसकेको देखाउँछ ।
विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मकी निर्माता सरस्वती भट्ट हुन् । फिल्ममा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल र कनिज कोइरालालगायत कलाकारको अभिनय छ ।







प्रतिक्रिया