सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘लालिबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो उपलब्धि हासिल गरेको हो ।

गीतले पाँच करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । उनले एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्‍याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’

स्वस्तिमाले यो भनाइ गीतले पाएको सफलताप्रति खुसी व्यक्त गर्ने क्रममा लेखेकी हुन् । फिल्म ‘लालिबजार’को यस गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको आकर्षक प्रस्तुति छ । खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत छ । गीतको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन् ।

युट्युबमा लोकप्रिय बनेको यो गीतले टिकटक र इन्स्टाग्राम रिल्समा पनि दर्शकको ध्यान खिचेको छ । गत वैशाख २५ गते नेपाल रिलिज भएको फिल्म ‘लालीबजार’ दसैँको अवसर पारेर ओटीटी प्लेटफर्म डिगोमा रिलिज गरिएको छ । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको फिल्म ‘लालीबजार’ डिगोमा रिलिज भएसँगै डायस्पोराका नेपालीले हेरेर सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिईरहेका छन् । फिल्म राम्रो रहेको भन्दै सकारात्मक प्रतिक्रिया फिल्मले प्राप्त गरिरहेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com