सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्सअफिसमा बलियो पकड कायम राखेको हो ।

फिल्मले प्रदर्शनको तीन दिनमै पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । सुरुवाती दिनदेखि नै ठूलो संख्यामा शो पाएको फिल्मका अधिकांश शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । पाँचौँ शृंखलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङको लगानी रहेको छ। सञ्जय लामाले छायांकन गरेको फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्।

सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ। फिल्मको कथा पनि निर्देशक रामबाबु गुरुङले नै लेखेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com