सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । यस वर्ष दसैंमा प्रदर्शनमा आएका ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ मध्ये बक्सअफिसमा कुन फिल्म अगाडि रह्यो ? सामाजिक सञ्जालमा कतै दर्शकको अपेक्षाअनुसार व्यापार नभएको चर्चा थियो भने कतै फिल्म सुपरहिट भएको दाबीसमेत देखिएको थियो । आखिर यी तीन फिल्मको वास्तविक व्यापार कस्तो रह्यो त ?

अघिल्ला भागको सफलता, दसैंको लामो बिदा र सिक्वेलप्रति दर्शकको चासोका कारण तीनवटै फिल्मबाट राम्रो व्यापारको अपेक्षा गरिएको थियो । तर, के यी फिल्मले अघिल्ला भागको सफलता दोहोर्‍याउन सके त ?

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक बक्सअफिस रिपोर्टले तीनवटै फिल्मको सुरुवाती व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखाएको छ। रिपोर्टअनुसार, कात्तिक ८ गतेसम्मको ग्रस कलेक्सनमा ‘आ बाट आमा २’ पहिलो, ‘छ माया छपक्कै २’ दोस्रो र ‘१२ गाउँ २’ तेस्रो स्थानमा छन्।

कमाइमा ‘आ बाट आमा २’ अगाडि

बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार, ‘आ बाट आमा २’ ले प्रदर्शनको १० दिनमा चार करोड ११ लाख ४६ हजार ४८४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मका एक लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन् । तीन फिल्ममध्ये सबैभन्दा बढी कमाइ गरेको यस फिल्मले बक्सअफिसमा अग्रता लिएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ । यसको अघिल्लो भाग ‘आबाट आमा’ले १३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

दोस्रो स्थानमा ‘छ माया छपक्कै २’

‘छ माया छपक्कै २’ ले प्रदर्शनको नौ दिनमा दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मका ८२ हजार ७५९ टिकट बिक्री भएका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ।

यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो । तर, सार्वजनिक रिपोर्टअनुसार फिल्मको अहिलेसम्मको कमाइ अघिल्लो भागको तुलनामा निकै कम छ ।

‘१२ गाउँ २’ तेस्रो स्थानमा

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ ले प्रदर्शनको १० दिनमा एक करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मका ५७ हजार ९८३ टिकट बिक्री भएका छन् । फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ।

यसको अघिल्लो भाग ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । अघिल्लो भागको तुलनामा सिक्वेलको सुरुवाती कमाइ निकै कम देखिएको छ ।

चलचित्र विकास बोर्डको रिपोर्टअनुसार, कात्तिक ८ गतेसम्म तीनवटै फिल्मले कुल आठ करोड ७१ लाख ८० हजार रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । तीन फिल्ममध्ये ‘आ बाट आमा २’ ले सबैभन्दा बढी कमाइ गर्दा ‘१२ गाउँ २’ तेस्रो स्थानमा छ ।

‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ असोज ३० गतेदेखि प्रदर्शनमा आएका थिए भने ‘छ माया छपक्कै २’ असोज ३१ गतेदेखि हलमा लागेको थियो । तीनवटै फिल्म दोस्रो सातामा प्रवेश गरिसकेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com