सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा असफल भएपछि यसको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । धेरैले फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’को अभिनय नहुनुलाई असफलताको कारण मानेका छन् । तर, बिहीबार एक अन्तर्वार्तामा दीपकले यसलाई ठाडै अस्वीकार गरे । बरु फिल्ममा हास्यरस कम हुँदा दर्शकले रुचि नदेखाएको उनको आशय थियो ।
‘कुनै एक कलाकार हुने वा नहुने कारणले फिल्म असफल भएको म मान्दिनँ । हास्यरस कम भएर हो । ‘माग्ने बुढा’ भएर फिल्म हिट हुने भए उसका सबै फिल्म सुपरडुपर हिट भइहाल्थे नि । एउटा मान्छेले फिल्मलाई हिट बनाउन सक्दैन । तर, ‘छ माया छपक्कै २’को त्यो पात्रमा दर्शकले ‘माग्ने बुढा’ खोजे । किनकि, त्योभन्दा अघि ‘माग्ने बुढा’ले खेलेका थिए’, दीपकले भने ।
दीपकले ‘माग्ने बुढा’का सबै फिल्म सफल नभएको जिकिर गरेपछि केदारले शुक्रबार फेसबुकमा पोस्ट लेख्दै आफ्नो पछिल्लो फिल्म ‘माग्ने राजा’ हिट भएको दाबी गरेका छन् । उनले फिल्मले बक्स अफिसमा मात्रै ४ करोड ७६ लाख रुपैयाँ ग्रस कमाएको उल्लेख गरेका छन् । युट्युब र विदेश राइट्सबाट प्राप्त रकम पनि यही आसपास रहेको उनको भनाइ छ ।
केदारले फेसबुकमा लेखेका छन्, ‘भाद्र ६ गते रिलिज भएको र भाद्र २३ र २४ आन्दोलन भई सबै हल ‘डिस्टर्भ’ भएको थियो । जम्मा १६ दिन मात्रै चल्न पाएको थियो भनि सबैमा जानकारी गराएँ ।’ दीपकको टिप्पणी सार्वजनिक भएलगत्तै केदारले ‘माग्ने राजा’को कमाइको विवरण सार्वजनिक गर्नुले उनीहरूबीचको सम्बन्धमा चिसोपना आएको संकेत गरेको छ।






प्रतिक्रिया