सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भइरहेका बेला निर्माण टिमले कात्तिक २० गतेदेखि नै देशभरका हलमा फिल्म प्रदर्शन हुने स्पष्ट पारेको हो। निर्माण टिमले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो फिल्म ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि)देखि नै देशभरका सम्पूर्ण हलमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ।’

निर्माण टिमले सबै धर्मप्रति उच्च सम्मान रहेको र फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्‍याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको पनि स्पष्ट पारेको छ।

‘हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौँ। हाम्रो फिल्मप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास, साथ र सद्भावप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। आगामी दिनमा पनि यहाँहरूको साथ, सहयोग र मायाको अपेक्षा राख्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

फिल्मको बुकिङ बुधबारदेखि नै खुलिसकेको छ। वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि अभिनय छ।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार यो सामाजिक कथामा आधारित फिल्म हो। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

फिल्मलाई श्याम तामाङले खिचेका हुन्। सुप्रिम पराजुलीले सम्पादन तथा रङ संयोजन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरले नृत्य निर्देशन, अर्जुन पोखरेलले संगीत, उत्तम न्यौपानेले ध्वनि संयोजन, सुजिल कर्माचार्यले पृष्ठभूमि संगीत र पुकार धिमालले दृश्य प्रभावको जिम्मेवारी सम्हालेका छन्। रोहित राज गौतम मुख्य सञ्चालन निर्माता र विष्णु बुढाथोकी निर्माण व्यवस्थापक छन्।

तिहारको अवसर पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउने फिल्मको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ। फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com