सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बहुप्रतीक्षित फिल्म ‘रामायण’ले भारतीय बक्स अफिसमा उत्साहजनक सुरुआत गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन दिउँसो ४ बजेसम्म भारतमा ३२ करोड ८१ लाख भारु नेट कमाइ गरेको छ ।

बक्स अफिससम्बन्धी तथ्यांक सार्वजनिक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार उक्त समयसम्म फिल्मले भारतभर ३२ करोड भारुभन्दा बढी नेट कमाइ गरेको हो। फिल्मको भारतमा कुल ग्रस कलेक्सन भने ३८ करोड ७२ लाख भारु पुगेको छ ।

स्याकनिल्कका अनुसार फिल्मको कमाइमा हिन्दी संस्करणको योगदान सबैभन्दा बढी छ। हिन्दी संस्करणले २४ करोड १७ लाख भारु नेट कमाउँदा कन्नड संस्करणले ३ करोड ९१ लाख, तेलुगु संस्करणले २ करोड ९८ लाख, तमिल संस्करणले १ करोड ११ लाख र मलयालम संस्करणले ६४ लाख भारु नेट कमाइ गरेका छन्।

यद्यपि, स्याकनिल्कले सार्वजनिक गरेको यो तथ्यांक पहिलो दिनको अन्तिम कमाइ भने होइन। दिउँसो ४ बजेसम्मको प्रदर्शनमा आधारित प्रारम्भिक अनुमान मात्र हो। रातिका शोको कमाइ जोडिएपछि पहिलो दिनको अन्तिम व्यापारिक आँकडा सार्वजनिक हुनेछ।

नितेश तिवारी निर्देशित फिल्म ‘रामायण’मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्। फिल्म नेपालमा पनि बिहीबारदेखि प्रदर्शनमा आएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com