सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ । सरित रायनको संगीत तथा कम्पोज रहेको गीतमा राम अविरल विष्टको शब्द रचना तथा रोहित सोनार र मेलिना राईको स्वर छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, सहारा हाङमा लिम्बू र दीपिका मगर प्रस्तुत छन्। प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई समेटिएको गीतको भिडियोमा सोनम र उपासनाको जोडी सुहाएको देखिन्छ। अन्य कलाकारको पहिरन र हाउभाउ पनि स्वाभाविक छन्।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’का यसअघि ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेऊ’ बोलका गीत सार्वजनिक भइसकेका छन्। यी तीनै गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनेको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा फिल्ममा प्रस्तुत गरिएको छ।
फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, सहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्। यही फिल्ममार्फत मिस सिक्किम सहारा हाङमा लिम्बूले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।






प्रतिक्रिया