सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा ४ लाख बढी दर्शकले हेरेका छन् ।

बक्सअफिस स्रोतका अनुसार फिल्मले कात्तिक २६ गतेसम्म नेपालमा १६ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिमा फिल्मका लागि ४ लाख ६ हजार टिकेट बिक्री भएको छ । फिल्मलाई उपलब्ध गराईएको शो सङख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि एक करोड माथिको ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ ।

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् । भारतीय महाकाव्य रामायणको कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com