सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् ।

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।

यसैबिच, यो फिल्मलाई फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

जापान र कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com