सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नवीन चौहानको डेब्यु निर्देशकीय फिल्म ‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक गरिएको छ। फिल्मको घोषणाताका निर्माण टिमले टाइटल गीतको सानो अंश सार्वजनिक गरेको थियो। अब भने निर्माण टिमले फिल्ममा समावेश पुरा गीत सार्वजनिक गरेको छ।

गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ।
फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन्।

फिल्ममा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्।फिल्म वैशाखबाट फ्लोरमा जानेछ। फिल्मलाई पाँचथरमा खिचिनेछ। आर्टमान्डूका अनुसार फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com