सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल’को रिलिज डेट लक भएको छ। निर्माण टिमले नाजिर फिचर्ड भएको एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेको हो। समुन्द्र भट्ट निर्देशित फिल्म अबभने कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट देशभर एकसाथ प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा तेश्रोलिङ्गि महिलाको भेषमा देखिएका छन भने उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार फिल्ममा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ। हुनत् फिल्मको यस अघि ‘गुलाबी’ नै रखिएको थियो पछि निर्माण टिमले  ‘गुन्यो चोलो’ नाम दिएका हुन्।

फिल्ममा निर्देशक भट्टले गरेको मेहेनत पनि कम छैन। उनले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’ संग पनि परामर्श गरेकी थिइन। धेरै खोज र अनुसन्धानपछि उनले यस फिल्ममा आफ्नो ज्यान भरेकी हुन। फिल्मलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो’ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन।

अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्मले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ। फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, निशा बजगाईं, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।

फिल्मको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। फिल्मको सम्पुर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो। फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित फिल्म नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। फिल्ममा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन। भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन।

आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। फिल्ममा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com