सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भदौ २१ गते भोली शुक्रबार तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’को बुधबार भव्य रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा चलचित्र हेर्न कमलपोखरी सिटी सेन्टरस्थित बिग मूभिज हलमा सिनेमाकर्मी र पत्रकारको उपस्थित थिए ।
चलचित्र हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा चलचित्र मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए । प्रिमियरमा चलचित्र हेरेका अधिकांशले सिनेमा उत्कृष्ट बनेकाले यो चलचित्र ठुलो माससम्म पुग्न जरुरी भएको प्रतिक्रिया दिए ।

चलचित्र हेरेपछि निर्देशक सौरभ चौधरीले सिनेमा निकै राम्रो बनेको भन्दै ‘देवी’ जस्तो कन्टेन्ट बेसको सिनेमा निर्माण गर्ने हरेक मेभरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई सिनेमाले सुक्ष्म रुपमा उठाएकाले सवै कलाकारले आफ्नो भुमिकालाई न्याय दिनु भएको छ । चलचित्र हेरिरहँदा कहिँकतै पनि अस्वभाविक लाग्दैन् ।

अभिनेत्री सृष्टि श्रेष्ठले पनि चलचित्रको बिषयवस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यन्वयनको जरुरी रहेकाले ‘देवी’ जस्ता चलचित्रले सरकारलाई घचघचाउन सफल हुने विश्वास व्यक्त गरिन् । अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि चलचित्र उत्कृष्ट बनेको भन्दा यस्ता सिनेमालाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसको रुपमा लैजानु पर्ने बताए ।

अभिनेता कर्मा शाक्यले पनि ‘देवी’ले गहन बिषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए । चलचित्रका मुख्य कलाकारहरु र निर्देशकले पनि आफुहरुको पाँच वर्ष लामो परिश्रम प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको अनुभव दिएको सुनाए । निर्देशक राईले त हल रिलिज पश्चात नेपालमा विभिन्न ठाउँमा चलचित्र देखाएर समाजलाई जागृत गराउने तयारी समेत रहेको बताए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्देशक सञ्जोग राई हुन् । चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा चलचित्र ‘देवी’ बनेका हो । यो चलचित्र निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com