सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउने महाशिवरात्री बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ को प्रचार-प्रसार नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलवार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
उक्त आदेशसंगै अब चलचित्रको सेन्सर नहुञ्जेल सम्म चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म चलचित्रको प्रचार-प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।
निवेदक आलमले चलचित्र विकास बोर्ड, कलाकार सिताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् । निवदेश आलमले गत माघ २४ गते नै निषेधाज्ञा मुद्दाको रिट निवेदन दर्ता गरेको बुझिएको छ ।
अदालतको आदेशमा भनिएको छ – ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’
आज बुधवार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो, तर अदालतको आदेशसँगै ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । त्यसैले चलचित्रका निर्मातालाई जति सक्दो चाँडो चलचित्रको सेन्सर गराउनु पर्ने बाध्यात्मक परिस्थितति सिर्जना भएको छ ।
चलचित्रको पोस्टर सार्वजनिक भएदेखि नै कलाकार सिताराम कट्टेल (धुर्मश) को गेटअप पूर्वमन्त्री आलमसँग मिलेको चर्चा भएको थियो । यही चर्चासंगै यो विषय अदालतमा प्रवेश गरेको हो । पूर्व मन्त्री आलमले अदालतमा दायर गरेको मुद्धामा चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।
कुमार कट्टेलको निर्देशनमा तयार भएको चलचित्रमा सिताराम कट्टेलसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । नविन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । यसको छायांकन सुदीप बरालले गरेका हुन् ।
प्रतिक्रिया