सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोलि यानी फागुन १४ गते अर्थात महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको तिन नेपाली चलचित्रहरुको सोमवारबाट अग्रिम बुकिङ खुलेको छ ।
‘रेशम फिलिली’
चलचित्र ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ । चलचित्रले देशभर ८६ शो भन्दा बढी प्राप्त गरिसकेको छ भने अन्य दुई चलचित्रहरुसँगै प्रदर्शनमा आउने लागेको चलचित्रको ट्रेलर र गीत दर्शकहरुले मन पराइदिएकोले चलचित्रलाई राम्रो शो पाउन थप सहयोग भएको छ ।
करिब ९ वर्षपछि सिक्वेलमा आउन लागेको चलचित्रमा मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरिएको छ।
चलचित्रमा कलाकारहरु विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतकाहरूको अभिनय रहेको छ ।
सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगीको द्वन्द निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको चलचित्रका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन् । चलचित्रको लेखन तथा निर्देशन निरोज महर्जनले गरेका हुन्।
चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन् ।
‘लाज शरणम्’
चलचित्र ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला भएको छ । बुधवार देखि प्रदर्शनमा आउने चलचित्रको सोमवारबाट बुकिङ खुला भएको छ ।
‘लाज शरणम्’ ले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।
विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ । ‘लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको चलचित्र हो ।
चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका छन् ।
चलचित्रमा कलाकारहरु सिताराम कट्टेल (धुर्मुस) संगै विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतकाहरुको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको चलचित्रका निर्माता नविन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
‘मायावी’
महाशिवरात्रिको दिन देखि नै प्रदर्शनमा आउन लागेको चलचित्र ‘मायावी’ को पनि सोमवारबाट बुकिङ खुला भएको छ ।
सोमवार साँझदेखि नै देशभरका मल्टिप्लेक्समा चलचित्रले सुखद शो पाएको छ । क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले चलचित्रको शो खुलाएका हुन् ।
चलचित्रमा कलाकारहरु पल शाह, दिपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका रहेको छ ।
क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन यसका लगानीकर्ता हुन् । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता रहेका छन् ।
चलचित्रमा राजु विक्रम थापाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको नृत्य निर्देशन छ ।
प्रतिक्रिया