सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।
सोमबार साँझ चलचित्रको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरूमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताएका छन् । विशेष गरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’ को संज्ञा दिएको दृश्य चलचित्रमा समावेश गरिएकोमा आपत्ति जनाएको बताइएको छ । त्यसलाई हटाउन वा चलचित्रमा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ । निर्देशक रौनियारका अनुसार बोर्डले प्रधानमन्त्री, कालो-गोरो जस्ता शब्द समेत नराख्न भनेको छ ।
चलचित्रको बुधवार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ । तर, चलचित्र सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभई प्रदर्शन समेत अन्योलमा रहेको छ ।
कानुनमा सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म चलचित्र देखाउन नपाइने व्यवस्था रहेपनि चलचित्र सेन्सर हुनुभन्दा अगाडि नै इटहरी, बिर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा चलचित्रको प्रिमियर शो आयोजना भइसकेको छ ।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला चलचित्र महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । चलचित्रले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो चलचित्रलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।
प्रतिक्रिया