सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत फागुन २ गते अलनेपाल रिलिज भएको चलचित्र ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्र आगामी मे ९ तारिखमा लण्डनको २७ वटा हलबाट प्रदर्शनमा आउन लागेको हो। यस चलचित्रलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिएका छन्। यो चलचित्रको लण्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताए। उनका अनुसार यो चलचित्रले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। यसअघि यो चलचित्र अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनमा आएको थियो।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रमा बाबुछोरीबीचको कथामा आधारित रहेको छ। विभिन्न चलचित्रमा सहायक निर्देशन गर्दै आएका सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यो चलचित्रमासलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ। यो चलचित्र अभिनेता बस्नेतको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। चलचित्रको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com