सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको चलचित्रलाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो चलचित्रको अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यस बाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए।

उनका अनुसार यो चलचित्र निर्माण भइसकेपछि विदेशमा यो चलचित्रको माग उच्च बढ्ने देखिन्छ। पछिल्लो समय नेपाली चलचित्रको क्रेज नेपालमा मात्र नभएर, विदेशमा पनि उच्च छ।

यो क्रेज फर्काउनुमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्धले पनि हो। यस चलचित्रमा पल शाह,उषा उप्रेतीका साथमा सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ। उनीहरु यस चलचित्रका लागि फाइनल भइसकेका छन्।

यही महिनाबाट छायांकनमा निस्किने यो चलचित्रका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ। चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। यो चलचित्र आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com