सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई दर्शकको राम्रो साथ मिलेको छ । वर्ड अफ माउथ बलियो पाएको चलचित्र रिलिजको सुरुवाती दिन देखि नै अधिकांश शो हाउसफुलका साथ प्रदर्शन भैरहेको छ ।
तीन नेपाली चलचित्र एकसाथ् रिलिज भएको समयमा कम शो पाउने चलचित्रमा ‘हरिबहादुरको जुत्ता’ परेको थियो। संगै रिलिज भएका नेपाली चलचित्रले २४४ र १४४ शो पाउँदा हरिबहादुरको जुत्ताले १३४ शो मात्र पाएको थियो। तर रिलिजको ७ औं दिन आइपुग्दा तीन नेपाली चलचित्रमा सर्वाधिक शो पाउने चलचित्र बनेको छ।
आज चलचित्र हलहरुले ‘हरिबहादुरको जुत्ता’ लाई ११७ शो दिएका छन्। संगै रिलिज भएका ‘बलिदान’ र ‘माइतिघर’ ले क्रमश १०७ र ७७ शो पाएका छन्। अधिकाश हलले सुरुवाती दिनमा सानो सिट क्षमताका सिट दिएका थिए भने अहिले ठुलो सिट क्षमताका हलमा चलचित्र सारेका छन्।
भारतीय चलचित्र ‘कन्तारा’ ले शो संख्यामा केहि प्रभाव पारे पनि रिलिजको पहिलो हप्तामा नै संगै रिलिज भएका नेपाली चलचित्रको तुलनामा तेश्रो नम्बरबाट पहिलो नम्बरमा लगाएको छलांगले चलचित्रको वर्ड अफ माउथ कति बलियो रहेको छ बताइरहेको छ। दर्शकको साथ र राम्रो प्रतिक्रियाका कारण यो चलचित्र लामो रेसको घोडा बन्ने कन्फर्म छ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
प्रतिक्रिया