सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिपावलीको अवसरमा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ले दर्शकबाट उत्कृष्ट साथ पाइरहेको छ। हाउसफूल शोजका साथ हलमा भित्रिएको चलचित्रप्रति दर्शक क्रेज उच्च देखिएको छ ।

बलियो ‘वर्ड अफ माइथ’ले प्रदर्शनको पाँचौ दिनसम्म पनि चलचित्रले देशभरका अधिकांश हलमा हाउसफूल विजनेश गरिरहेको छ । यसैबीच दर्शक प्रतिक्रियाको लागि चलचित्र युनिट मंगलबारबाट मोफसल टूरमा निस्केको छ ।

अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङसहितको टिम पश्चिम नेपाल भ्रमणमा निस्केको हो । मंगलबार दाङ र बुधबार नेपालगन्जमा फिल्म क्रूले दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको निर्माता सरोज न्यौपानेले बताए । संगसँगै देशका अन्य विभिन्न शहरहरूमा समेत तिहार अघि र पछि गरेर क्रमश: कलाकारसहित दर्शक साक्षात्कारको लागि पुग्ने उनले बताए ।

सुयोग गुरुङको निर्देशनमा तयार चलचित्र’जेरी अन टप’ले प्रदर्शनको पहिलो चार दिनमा झण्डै तीन करोड ग्रस विजनेस गरिसकेको छ । जेरीको सगरमाथा आरोहण र त्यसबीचमा उत्पन्न हुने आरोह अवरोहको परिवेश चलचित्रको कथा हो। भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरू फिल्ममा प्रमुख अभिनयमा छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com