सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ। चलचित्रको प्रचार-प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डका सदस्यहरूले दर्शकलाई साङ्गीतिक माहौलमा झुमाएका थिए।

कार्यक्रममा गायक केहर सिं लिम्बुले चलचित्र ‘कुमारी’का चर्चित गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना लोकप्रिय सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे। विशेष गरी चलचित्रको बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकार द्वय अबिशेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको ठुलो साथ पाएका थिए। सोही अवसरमा निर्देशक दिनेश राउतले आफूले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ‘कुमारी’ एक उत्कृष्ट लभ स्टोरी चलचित्र बनाउने कोसिस गरेको बताए।

नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा अब देशका अन्य सहरहरूमा पनि पुग्नेछ। निर्माण पक्षका अनुसार यो टोली माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ। आगामी माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माताको रूपमा केदार भुसाल रहेका छन्। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन, रहेको यस चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ। चलचित्रका सबै गीतमा केहरको स्वर रहेको छ भने सङ्गीत केहर एन्ड द लुङाका सदस्यहरूको र गीतकार सागर लामिछाने मगर र सुमन तामाङ रहेका छन्।











प्रतिक्रिया