सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेलले नेपाली चलचित्र ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त चलचित्रको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’ को प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेपछि गीतको भिडिओ प्रदर्शन गरिएको थियो ।
कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायत कलाकारले प्रस्तुति दिएका थिए । पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा कुशलले गीत गाएपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए ।

सार्वजनिक गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ । स्रोताको रुचि र आधुनिक सङ्गीत शैलीलाई ध्यानमा राखेर तयार गरिएको गीतको सङ्गीत निर्माण चर्चिल भुसालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ केपासले गरेका छन् । गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् । झोलेइज्मको निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको भिडिओमा जेस्टीको कोरियोग्राफी रहेको छ । भिडिओमा जेनिश महर्जन छायाँकार र ऋषिक प्रधान रचनात्मक निर्देशकका रूपमा संलग्न छन् ।
कुशल पोखरेलले निर्माण टिमको लगाव र निर्देशक सुदिप्ताको सक्रियता देखेर सहकार्य गर्न तयार भएको बताए । उनले भने, ‘हाम्रो भाइब मिल्यो । आपसी छलफलपछि झन्डै सातौँ ड्राफ्टमा पुग्दा शब्दमा सहमति बनेको हो । यो ब्रेकअप स्टोरी भएकाले ब्रेकअपपछि केटीको दृष्टिकोणबाट गीत तयार गरिएको छ ।’

गीतको भिडिओमा काम गर्दा आफूलाई निकै रमाइलो लागेको उल्लेख गर्दै कुशलले ‘फोन नगर’ले युवापुस्ताको ब्रेकअपपछिको कथालाई बोलेको बताए । ‘यो गीत बनाउने कुरा झन्डै एक वर्षअघि भएको थियो । आ-आफ्नो काममा व्यस्त भए पनि अन्ततः फेरि भेटेर एउटा सिर्जना तयार गरेका छौँ । अलि समय लागेपनि कडा चिज निस्किएको जस्तो लागेको छ, दर्शक प्रतिक्रियाको प्रतीक्षमा छु’, कुशलले भने ।
उक्त कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिएकी थिइन् । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ, जहाँ फिल्मसँग सम्बन्धित गायक गायिकाले प्रस्तुति दिनेछन् ।
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित फिल्मले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ । यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् । फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय रहेको छ ।
यस्तै, फिल्मको ‘तिमी भए काफी’ गीतको अंश रहेको ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । यस गीतमा आधारित लाखौ भिडिओ बनिसकेका छन्, जसले राम्रो भ्युज पाएका छन् । विशेषत गीतमा चलेको ‘एड्स योर कलर’ ट्रेण्ड अहिले युवापुस्ता माँझ लोकप्रिय बनिरहेको छ । आफ्नो जीवनलाई खालिपनबाट हटाउने र रङ्ग भर्नेसँग अहिले टिकटकमा भिडिओ बनाएको देख्न सकिन्छ । गायक समीर श्रेष्ठको स्वर र साश्वतको सङ्गीत रहेको गीत अहिले सामाजिक सञ्जालमा रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।
‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’मा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने भावनात्मक यात्राको कथा प्रस्तुत गरिएको छ । फिल्ममार्फत आना शर्मा निर्माण पक्षमा पनि जोडिएकी छन् । उनले अभिनयसँगै कार्यकारी निर्मात्रीको भूमिका निर्वाह गरेकी छन् । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।
चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत रहेको छ । शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ । काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।









प्रतिक्रिया