सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ। निर्माण टिमले बर्दिया राष्ट्रिय निकुञ्जमा केहि दृश्यहरु खिच्दै छायांकन सुरु गरेको हुन्।  राजिव गुरुङको डेब्यु निर्देशनमा बनिरहेको फिल्ममा शर्मिला थापाको लगानी रहेको छ। थ्रिलर जनरामा आधारित फिल्मको बर्दिया छायांकन सेड्युल १४ दिनको हुने जानकारी फिल्मका कार्यकारी  निर्माता अनुप पौडेलले दिएका छन।

नम्रता श्रेष्ठसँगै सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको फिल्मको काठमाडौँ छायांकन भने २० दिनको हुनेछ। काठमाडौँको सेड्युल सकेर निर्माण टिम ५ दिने सेड्युल सहित धरान जानेछ। फिल्मकै लागि भनेर केहि समय अघिदेखि अभिनेत्री नम्रता श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । नेपाली कलाकारमा चरित्र निर्माणका लागि यत्तिकै मेहनत गर्नेको संख्या निकै कम छ ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भईरहेको फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ । फिल्ममा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com