सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गरेका छन् । आइतबार पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’मा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । ‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो । यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन संचारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए । आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलमा आयोजना गरेको संस्करण तास्मानियामा भएको नेपाली समुदायको पहिलो कार्यक्रममा रहेको निर्माता अधिकारीले बताए । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्याम्प नापेका थिए । ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जानाएको छ । परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताए । नेपाल र सिड्नीमा हेरिटेज अफ फेसन अस्ट्रेलिया सफलता पूर्वक सम्पन्न भैसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि-पोडक्सनमा समेत व्यस्त छन् ।
११ असार २०८०, सोमबार
प्रतिक्रिया