सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । विश्वका धनाढ्य इलन मस्कले भेनिस फिल्म फेस्टिभलमा मंगलबार प्रिमियर भएको आफ्नो जीवनीमा आधारित चार घण्टा लामो डकुमेन्ट्री ‘मस्क’को तीव्र आलोचना गरेका छन्। ओस्कार विजेता निर्देशक एलेक्स गिब्नीले तयार पारेको उक्त डकुमेन्ट्रीलाई मस्कले ‘दुर्भावनापूर्ण हिटपिस’ र ‘अत्यन्तै बोरिङ’ भन्दै कडा आलोचना गरेका हुन्।
भेनिसमा प्रिमियरपछि भने डकुमेन्ट्रीले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। प्रदर्शनपछि करिब चार मिनेटसम्म दर्शकले उठेर सम्मानसमेत गरेका थिए। ‘मस्क’मा मस्कको राजनीतिक यात्रादेखि टेस्लाका ‘सेल्फ-ड्राइभिङ’ कारसँग जोडिएका विवादसम्मका विषयलाई समेटिएको छ। त्यस्तै, उनको बहुचर्चित ‘अकुपाई मार्श’ अभियान र १४ सन्तानका विभिन्न आमासँगको जटिल सम्बन्धलाई समेत डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ।
डकुमेन्ट्रीको प्रिमियरपछि मस्कले आफ्नै सामाजिक सञ्जाल ‘एक्स’मार्फत आक्रोश व्यक्त गरेका छन्। भेनिसमा आयोजित पत्रकार सम्मेलनको एक भिडियोमा टिप्पणी गर्दै उनले निर्देशक गिब्नीको समेत कडा आलोचना गरेका छन्।
मस्कले गिब्नीलाई ‘कुकुर जतिको सम्मानको लायक पनि नभएको’ भन्दै टिप्पणी गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘उनीसँग कुनै निष्ठा छैन। उनी एक खराब मानिस हुन्। गिब्नीले मसँग असन्तुष्ट रहेका वा मलाई चिन्दै नचिनेका मानिसहरूको भनाइ संकलन गरेर डकुमेन्ट्री बनाएका हुन्।’
यता, डकुमेन्ट्रीका निर्देशक गिब्नीले भने मस्कको जीवन र उनको सार्वजनिक प्रभावका विभिन्न पक्षलाई प्रस्तुत गर्ने उद्देश्यले डकुमेन्ट्री तयार पारेका छन्। मस्कको कडा प्रतिक्रियाका कारण ‘मस्क’को चर्चा भेनिस फिल्म फेस्टिभलमा झनै चुलिएको छ।






प्रतिक्रिया